सिरहा । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई घुस रकम लिँदै गर्दा नियन्त्रणमा लिएको हो।

सिरहा सुपर मार्केट प्रा.लि.को पूर्ण कर परीक्षण गर्ने क्रममा कर अधिकृत पालले सेवाग्राहीसँग घुस माग गरेका थिए। सुरुमा १२ लाख रुपैयाँ घुस मागेका उनले पछि ५ लाख रुपैयाँमा काम फछ्र्योट गरिदिने सहमति जनाएका थिए।
विभिन्न व्यक्तिमार्फत रकम असुल गर्ने प्रयास असफल भएपछि उनी कार्यालयभित्रै घुस लिन तयार भएका थिए। सेवाग्राहीलाई कार्यालयमै बोलाएर ५ लाख रुपैयाँ घुस बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
